हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

विचार ब्लग

दलहरुका गठबन्धन कतै आशा कतै निराशा ।।

image not found
–सोम दियाली
             अहिले प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लिएर दल र तिनका नेताहरुले सके पार्टी एकीकरण गर्ने नसके चुनावी तालमेल गर्ने गरि रहेका छन् । यो क्रम गत स्थानीय तह निर्वाचनमा पनि देखिएको हो । आफ्नो पकड र प्रभाव बलियो बनाउन दल र तिनका नेताहरु कि त तालमेल गर्ने कि त एकता गर्ने कुरामा खुलेरै लागे । स्थानीय तह निर्वाचनमा धेरै जसो ठाउँमा तालमेल गरेका नेपाली काँग्रेस र माओवादी प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा भने ध्रुविकरण भएका छन् । काँग्रेससँग सत्ता साझेदार गरेको र स्थानीय तह चुनावमा तालमेल समेत गरेको माओवादी अहिले एमालेसँग मिलेको छ । उनीहरुले प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा तालमेल गर्ने र चुनाव पछि एकीकरण नै गर्ने घोषणा समेत गरि सकेका छन् । हिजो कुकुर विरालो जस्तो एक अर्कालाई देखि नसहने दुई पार्टिले तालमेल गर्लान भनेर कसैले पनि सोचेका थिएनन् । स्वयम तिनै पार्टीका नेताहरुले पनि सोचेका थिएनन् । कसैले नसोचेको कुरा उनीहरुले पूरा गरे । उनीहरुले ६०÷४० को आधारमा सिट बाडफाड समेत गरि सकेका छन् । काँग्रेसले पनि एमाले र माओवादीले गठबन्धन गरको भोली पल्ट नै केही साना दलहरु सम्मिलित लोकतान्त्रिक गठबन्धन बनायो । उसले केही दलसँग एकता सँग सँगै तालमेल समेत गरि रहेको छ । गठबन्धनका कारण कतै आशाहरु थपिएका छन भने कतै निराशा समेत बढेको छ । आफुले सिट र टिकट पाएका ठाउँमा पाउने खुशि देखिए नपाउने दुखि । नपाउने दुखि मात्रै भएनन् धमाधम पार्टी परित्याग गर्न तर्फ पनि सक्रिय भए । आफुले नपाए पछि सोही पार्टीमा किन वस्नु भन्ने मानसिकता कतिपय नेताहरुमा देखियो । अनि एउटा एउटा बहाना बनाउदै फटाफट पार्टी छोड्दै गए । 
               पछिल्लो समय दलहरुले तालमेल र एकताको लागि गरेका प्रयासहरु एका तिरबाट सकरात्मक देखिएका छन् भने अर्को तिरबाट हेर्दा उनीहरुकै लागि वेफाईदा समेत भएको छ । एक थरी मान्छेहरु अव नेपालमा अमेरिकामा डेमोक्राटिक र रिपव्लिकन भए जस्तो हुने भो भन्दै छन भने अर्का थरी मान्छेहरु कम्यूनिष्टहरु कहिल्यै मिल्न सक्दैनन् भन्छन् । दुनियाँमा कम्यूनिष्टहरु एक भएको कही छैन भन्दै छन् । गठवन्धनका कारण पार्टीमा लामो समय संघर्ष गरेकाहरु असन्तुष्ट बनेका छन् । उनीहरुको असन्तुष्टी पार्टी परित्याग गर्ने सम्म रहेको पाईएको छ । एमाले र माओवादीको तालमेलले आसन्न निर्वाचनमा दुई तिहाई बहुमत आउने र एकलौटी सरकार बनाउने शिर्ष नेताहरुले दावी गरि रहेका छन् तर बाम गठवन्धनको कारण उनीहरुलाई भन्दा काँग्रेसलाई फाईदा भएको राजनितिक विश्लेषकहरुले विश्लेषण गरेका छन् । किनकी एमाले र माओवादीलाई साविककै अवस्थामा रहेको पार्टीभित्र कार्यकर्तालाई व्यवस्थापन गर्न गाह्रो भई रहेको अवस्थामा दुई पार्टी एक हुने भए पछि पार्टीमा आफ्नो स्थान नआउने छाटकाट पाउनेहरु ती पार्टीहरुबाट कि त अलग भएका छन् कि त अर्को पार्टीमा प्रवेश गरेका छन् । अर्को तिर काँग्रेस दुई ठुला कम्यूनिष्टहरुको तालमेलले आफु कमजोर भईन्छ कि हारिन्छ कि भन्ने मानसिकता बोकेर बसि रहेको छ । गठबन्धन गरे पछिका दिनहरुमा पार्टी त्याग्नेहरुको लर्को लागेको छ । काँग्रेस छोडी एमाले एमाले छोडी काँग्रेस, माओवादी छोडी काँग्रेस । यो सव टिकटकै लागि भएको जानकारहरुले बताएका छन् । लामो समय पार्टीमा संघर्ष गर्दा पनि टिकट नपाएकाहरुले त बागी उमेदवारी समेत दिएका छन् । सर्लाहीको परिवेशमा हेर्ने हो भने पनि लामो समय काँग्रेसमा संघर्ष गरेका शम्भुलाल श्रेष्ठ टिकटकै लागि २०७० सालमा माओवादीमा प्रवेश गरेका थिए । उनले माओवादीबाट चुनाव जिते र साँसद भए । उनी अहिले माओवादीको तर्फबाट विना विभागीय राज्यमन्त्री छन् । तर वाम तालमेलको कारण आफुले टिकट नपाउने भए पछि र काँग्रेसले पुनः टिकट दिने भए पछि उनी फेरी काँग्रेसमा फर्किएका छन् । यो त प्रतिनिधी उदाहारण मात्रै हो यस्ता घटना पछिल्लो समयको नेपाली राजनितिमा धेरै नै छन् । 
                 पछिल्लो समय पैसा हुनेले मात्रै र चुनावमा पैसाको खोलो वगाउन सक्नेले मात्रै टिकट पाएका विश्लेषकहरुले बताएका छन् । पार्टीमा लामो संघर्ष गरेका हरु कि त चुप वस्नु पर्ने कि त समानुपातिकमा चित्त बुझाउनु पर्ने अवस्था आएको छ । समानुपातिकमा पनि मोटो रकमकै बार्गेनिङ्ग हुने गरेको स्वयम नेतारुकै मुखबाट सुन्नमा आएको छ । यस्तो अवस्थामा राजनितीक क्षमता हुँदा हुँदै पनि पैसाकै कारण नेतृत्व तह सम्म पुग्न नपाउने भए पछि नेता तथा कार्यकर्ताहरुमा निरासा छाएको छ । जनताले पनि एउटै मान्छे टिकट र अवसरकै कारण कैले यो पार्टीमा त कैले त्यो पार्टिमा आउने जाने गर्नाले कसलाई भोट हाल्ने भन्ने कुरामा दुविधामा परेका छन् । पार्टी फेर्नेहरुलाई कसरी विश्वास गर्न सकिन्छ । पार्टी फेर्नेले भोली जनता सँग गरेको कबुल पनि फेर्ने कुरामा दुई मत छैन । 
                 साँच्चै भन्ने हो भने अहिले नेपालमा दुई ठुला गठबन्धन छन् । एउटा लोकतान्त्रिक गठबन्धन अर्को बाम गठबन्धन । त्यस्तै अर्को मधेश केन्द्रित दलहरुको पनि चुनावी तालमेल । अहिले दुवै गठबन्धन एक अर्कासँग डराई रहेका छन् । त्यति मात्रै हैन विपक्षी गठबन्धनलाई कमजोर पार्न एक अर्कालाई आरोप प्रत्यारोप समेत लाई रहेका छन् । एक थरीले बाम गठबन्धन राम्रो भनि रहेका छन् भने अर्कोथरीले लोकतान्त्रिक गठबन्धन तर कुन गठबन्धन राम्रो भन्ने कुरा चै चुनावी नतिजाले मात्रै देखाउने छ । जनताले पक्कै पनि यी सबै राजिनितिक गतिविधि राम्रो सँग बुझी सकेका छन् । कस्लाई भोट दिनु राम्रो कस्लाई नराम्रो भन्ने कुरा स्वयम उनीहरुले नै सेल्फ डिसिजन गरि सकेका छन् । जो सुकैलाई घाटा नाफा जे भए नि जनतालाई सधै फाईदा हुनु पर्छ भन्ने पक्षमा जनताले सधैं बुझ्नु जरुरी छ । र यो कुरा जनताले बुझेका पनि छन् ।