हरिवन १०,सर्लाही

2:15 PM - 3:00 PM

अहिले तरंगमा : आधुनीक गित

3:00 PM - 3:15 PM

यसपछि : उज्यालो समचार

समाचार

​आफू जित्नेभन्दा पनि एमाले हराउ अभियानमा प्रचण्ड

वैशाख ३१ को स्थानीय चुनाव सकिए पनि दोस्रो चरणको चुनाव जेठ ३१ मा सम्पन्न गर्न गम्भीर कठिनाइ विद्यमान रहेको छ । पहिलो चरणको चुनाव हुनुलाई प्रधानमन्त्री दाहालको ठूलो सफलता भनेर भजन गाउने क्रम पनि सुरु भएको छ र दाहालले यसलाई आफ्नो जीवनको ठूलो उपलब्धि भनेर भाषण गर्ने क्रम पनि सुरु भएको छ । तर यथार्थमा मधेशी मोर्चाले उनीहरुको मागअनुसार संविधान संशोधन नभए मधेशमा चुनाव हुन नदिने भनी भन्दै आएको अडानकै अनुसार मधेश जोडिएका प्रदेश बाहेकका ठाउँमा मात्र पहिलो चरणको चुनाव भएको छ । यस अर्थमा दाहालले घमण्ड गर्नुको कुनै अर्थ छैन । वास्तविक चुनौती भनेको मधेशमा चुनाव गराउनु हो, जुन दोस्रो चरणको चुनावमा देखिनेछ ।  पहिलो चरणको चुनाव हुन सक्नु भनेको मधेशी मोर्चा र माओवादी केन्द्र र कांग्रेस गठबन्धन सरकारबीचको बाटोमा सम्झौता हो । माओवादी–कांग्रेस गठबन्धन सरकारले मधेश बाहेकको चुनाव गराउनुलाई ठूलो विजय ठान्नु भनेको यस यथार्थमाथि पर्दा हाल्ने र जनतामा भ्रम छर्ने प्रयास मात्र हो । अर्को सरकार पनि माओवादी–कांग्रेस गठवन्धनकै हुने निश्चित भएको स्थितिमा देउवाको नेतृत्वमा बन्ने यस नयाँ दाहाल–देउवा गठवन्धन सरकारले मधेशका जिल्लाहरु समेत जोडिएका बाँकी प्रदेशहरुमा दोस्रो चरणको चुनाव सम्पन्न गराएपछि मात्र दाहाल–देउवाले विजयको दावी गर्न पाउनेछन् । पहिलो चरणको चुनाव हुन दिनु भनेको दाहालको नाक जोगाउन मधेशी मोर्चास‘ग गरेको मध्यमार्गी बाटोको परिणाम मात्र हो ।  मधेशी मोर्चा र दाहाल–देउवा गठवन्धन सरकारको असली परिक्षा आगामी दोश्रो चरणको चुनावमा हुनेछ । मधेशी मोर्चाले आफ्ना मागहरु सम्वोधन हुने गरी संविधान संशोधन नभएसम्म मधेशका जिल्लाहरुमा चुनाव हुन नदिने अडान कायमै राखेको छ भने सरकारले मधेश जोडिएका जिल्लाहरुमा जेठ ३१ मा चुनाव गराउने घोषणा गरिसकेको छ । यो स्थितिमा विभिन्न विकल्पहरु हुन सक्दछन् । पहिलो, मधेशी मोर्चामाथि जनता, कार्यकर्ता र देशी विदेशी शक्तिको दवाव परेर पछि हट्दै चुनावमा भाग लिने सम्भावना । दोस्रो, सरकार दवावमा परेर चुनाव स्थगित गर्ने सम्भावना । तेस्रो, दमन र भिडन्तका बीच चुनाव हुने र जनधनको ठूलो क्षतिका बीच चुनाव हुने सम्भावना । चौथो, एमालेबाहेकका दलहरु मिलाएर दुईतिहाई पु¥याई संविधान संशोधन हुने र मधेशी मोर्चा चुनावमा आउने सम्भावना । पाँचौं, कुनै मध्यमार्गी विकल्प खोजेर मधेशी मोर्चासहित चुनाव हुने सम्भावना ।  यी विविध सम्भावना केलाउने हो भने र मधेशी मोर्चाले आफ्ना अडानहरुलाई लिएर विगत दश वर्षदेखि भइरहेको मधेश आन्दोलनलाई हेर्ने हो भने अहिलेको दोस्रो चरणको स्थानीय चुनाव निकै चुनौतिपूर्ण रहेको देखिन्छ । मधेशी मोर्चाले आफ्ना मागहरु सम्वोधन नहुँदै यो चुनावमा सहभागी हुँदा आफ्नो पराजय अनुभव गर्ने हुनाले सजिलै चुनावमा भाग लिने  देखिन्न । तसर्थ यस चुनाव अगाडि नै मधेशी मोर्चाले सरकार र प्रतिपक्षी एमालेमाथि ठूलो दवाव बनाउनेछ । एमालेलाई संविधान संशोधनमा मत हाल्न ठूलो दवाव आएपनि संशोधन विरोधी अडान नै आफ्नो पहिचान बन्न पुगेको यस परिस्थितिमा एमालेले संविधान संशोधनमा मत हाल्ने सम्भावना छैन । मधेशी मोर्चालाई चुनावको पक्षमा जान जनता र कार्यकर्ताको केही दवाव बढे पनि यो चुनाव हुन दिए आफ्नो राजनैतिक पराजय सुरु हुने सम्भावनाको आंकलन र यसले प्रदेश र केन्द्रीय चुनावमा पनि लत्रिएर जानुपर्ने स्थितिको आंकलन गर्दै अहिले नै चुनाव हुन नदिने र अर्को चरणको मधेश आन्दोलन घोषणा हुन सक्ने सम्भावना बढेको छ भन्ने मधेशी नेताहरुको भनाइ आउन थालेको छ । मधेशको नयाँ एकीकृत दललाई दर्ता गर्न दिने तथा नयाँ चुनाव चिन्ह पाउने, मधेशमा स्थानीय सरकारको संख्या अझ थप गर्ने तथा अन्य यस्तै केही विचको वाटो सहितको संविधान संशोधन वा प्रदेशको निर्वाचन अगाडि संविधान संशोधन गर्ने उधारो प्रतिवद्धता सहित मधेशी मोर्चा चुनावमा आउने सम्भावना भने निकै झिनो मात्र रहेको वताइन्छ । मुख्य तथ्य यो हो कि आगामी दोस्रो चरणको चुनाव दाहाल देउवा गठवन्धनको नयाँ सरकारको लागि गम्भीर परीक्षा हुनेछ र ठूलो उथलपुथलको समय हुनेछ र यसले नेपालको राजनीतिक भविष्य निर्धारण गर्नेछ । यदि यसको सहि र शान्तिपूर्ण समाधान निकाल्न दाहाल देउवा गठवन्धनको नयाँ सरकार र मधेशी मोर्चा असफल भएमा नेपाल गम्भीर राजनैतिक दुर्घटनामा पर्नेछ र नयाँ द्वन्द्वकालको शुरुवात हुन सक्नेछ ।  पहिलो चरणको चुनाव होला या नहोला भन्ने अन्यौलका बीच भएको यस चुनावमा जनताको सहभागीता कम भएन । मत हाल्न नपाएका र नआएका करिव ३० प्रतिशत मतदाताको संख्यालाई पनि कम आँक्न मिल्दैन । यस चुनावमा सत्ताधारी दलहरुले कतिपय स्थानहरुमा गरेको धाँधली र दमन पनि कम आँक्न मिल्दैन । जे भएपनि यस चुनावले दलहरुलाई धेरै ठूलो शिक्षा दिने निश्चित छ । जनता पनि शिक्षित हुने अवसर पाउनेछ । यस चुनावमा माओवादी केन्द्रका बहुसंख्यक उम्मेदवारहरुको स्थिति एमालेलाई हराउने र कांग्रेसलाई जिताउने कैंची उम्मेदवारको रुपमा रहने कुरा भने चुनावी परिणामले पुष्टि गर्दै लानेछ । माओवादीले केही ठाउँहरुमा अवश्य पनि जित्नेछन् तर बहुसंख्यक ठाउँहरुमा भने एमालेलाई हराउने र कांग्रेस जिताउने अभियानमा कैंची उम्मेदवारको भूमिका खेलेको कुरा चुनावी परिणामले देखाउनेछ । एमालेलाई हराउनु  र कांग्रेसलाई जिताउनु नै आफ्नो पौरख र वीरगाथा देख्ने दाहालले दश वर्षे जनयुद्धको औचित्य कसरी पुष्टि गर्ने हुन् भन्ने प्रश्न गम्भीर बनेको छ । कम्युनिष्ट जनमत वहुमतमा रहेपनि कम्युनिष्टहरु हार्न पर्ने स्थितिको प्रमुख दोषी दाहाल नै हुन् । एमालेको कार्यदिशामा आएर जनयुद्धको कार्यदिशा परित्याग गरेका दाहालले ठुलो स्वरमा एमालेको विरोध र भण्डाफोर गरेर मनशान्तिको कामना त गर्न सक्नेछन् तर आगामी दिनमा यथार्थताको सामना गर्न सक्नेछैनन् ।  दोश्रो चरणको चुनाव र प्रदेश तथा केन्द्रिय संसदको चुनाव वाँकि नै छ । पहिलो चरणको चुनाववाट शिक्षा लिएर सबै दलहरुले आफ्ना रणनीति र कार्यनीतिहरु परिमार्जन गर्न अब लाग्नेछन् र आगामी चुनावी संग्रामको तयारी थाल्नेछन् । यदि देशमा तुलनात्मक रुपले स्थिर सरकार वनोस र शान्तिपूर्ण रुपले विकासका कामहरु अगाडि वढोस् भन्ने जनताको चाहनालाई वामपन्थी नेताहरुले सम्मान गर्ने हो भने उनीहरुले राप्रपा र मधेशी मोर्चाको एकता प्रकृयावाट सिक्नु पर्दछ र वामपन्थी दलहरुको एकता प्रकृयालाई अगाडि वढाउनु पर्दछ र जनतामा रहेको वहुमत वामपन्थी समर्थनलाई संगठित स्वरुप दिनु पर्दछ । यसमा प्रमुख वाधक माओवादी केन्द्रको कुरा चर्का गर्ने तर कांग्रेस जिताउन कैची उम्मेदवार तयार पार्ने कुवाटोको भण्डाफोर गर्न एमालेले ठुलै मेहनत गर्न पर्दछ । साथै माओवादी केन्द्रको दक्षिणपन्थी अवसरवादको भण्डाफोर अझै नपुगेको यथार्थता आत्मसात गर्दै त्यसमा तीब्रता दिनु पर्दछ ।  यसका साथै एमालेको नेतृत्वको सरकार केन्द्रमा रहँदा गर्न सकिने कामहरुलाई पनि नगरिनु, राख्न सकिने कार्यक्रमहरु पनि नराखिनु लगाएतका कमि कमजोरीहरुमाथि गम्भीर समीक्षा गरिनु पर्दछ । एमालेले आफ्ना जनपक्षीय अडानहरुलाई अझै तीखार्नु पर्दछ । चुनावी रणनीति र कार्यनीतिहरुमा भएका कमी कमजोरीहरु सच्याउनु पर्दछ । कार्यकर्ता र नेताहरुको नयाँ पंक्ति तयार पार्दै पुरानो पंक्तिलाई गुटवन्दी मुक्त वनाउनु पर्दछ । एमाले आफैले वाम एकताको नयाँ पहल थाल्नु पर्दछ ।  दोश्रो चरणको चुनाव कठिन मोडमा रहेको स्पष्टै छ । एमाले र मधेशी मोर्चाको अडानको विचमा परेर दाहाल देउवा नयाँ गठवन्धन सरकार पिल्सिन थाल्नेछ । दाहाल देउवा गठवन्धन सरकारले पनि एमालेमाथि दोष थोपरेर आफुहरु पन्छिन कोशिस गर्नेछ । यसमा देशी विदेशी अनेक शक्तिहरुले पनि आगोमा ध्यु थप्ने निश्चित छ । तसर्थ अर्को चरणको प्रचार युद्ध अबको केही दिन भित्रै शुरु हुनेछ । पहिलो चरणको निर्वाचन परिणामको मसला पनि यसमा प्रयोग स्वतः हुनेछ ।